काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस बुुधबार देशभर मनाइँदै छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्।
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गरेका थिए। त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछ ।
पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सारेका थिए । कम्युनिष्ट घोषणापत्र लेखेपछि उनकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थापना भएको हो ।
भारत, कलकत्तास्थित श्यामबजारको एक बङ्गालीको घरमा नेकपा पार्टी स्थापनाको घोषणा भएको थियो । नेकपाको पुष्पलाल संस्थापक महासचिव रहेका थिए । नेकपाको स्थापना कालमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ रहेका थिए।






