काठमाडौं । नेकपा एमाले  प्रतिनिधिसभा पुनर्स्थापनाका निम्ति सर्वोच्च अदालत जाने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकले संसद् विघटनविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभा विघटन संविधान विपरीत रहेको ठहर बैठकले गरेको विघटित संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

“प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटन गर्ने कदम संविधान र लोकतन्त्र विपरीत रहेको ठहर गर्दछ । साथै यस बैठक उक्त संविधान विपरीत र लोकतन्त्र विरोधी कदम सच्चाउन प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गर्दछ,” बैठकपछि जारी निर्णयमा भनिएको छ ।

बैठकले बर्तौला र तत्कालीन सचेतक सुनिता बराललाई निवेदन पेस गर्ने अख्तियारी दिएको छ ।  बैठकले जनप्रदर्शनको निर्णयसमेत गरेको छ ।