कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अबको केही दिनभित्रमा  विभिन्न पार्टीसँग एकता गर्ने भएको छ ।
शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते हुने यसअघि कायम  केन्द्रीय समिति बैठकले पार्टी एकताबारे टुङ्गो लगाउने पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले भने, “पार्टी एकता आजको बैठकको एजेन्डा थियो, एकताबारे वैचारिक, सैद्धान्तिक, राजनीतिक र नीतिगत विषयमा करिब करिब सहमति भइसकेको छ। आज खासगरी प्राविधिक र सङ्गठनात्मक विषयमा छलफल केन्द्रित भएको छ ।”
प्रवक्ता सापकोटाका अनुसार नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गर्नुभएका नेता प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीबीच एकता हुँदैछ ।