काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अधिकांश राजनीतिक दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा रहेको भए पनि केही स्थानमा तालमेल हुन सक्ने सम्भावना रहेको बताएका छन्।

प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले देश निर्माणसम्बन्धी नीति र विचारका आधारमा एमाले निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरे।

अन्तरसंवादका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तालमेलबारे छलफल भएको भन्ने विषयमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिँदै गुरुङले बाहिर चर्चामा आएजस्तो हालसम्म एमालेले कुनै औपचारिक निर्णय नगरेको स्पष्ट पारे। उनले राजनीतिमा छलफल, संवाद र विभिन्न सम्भावना रहने उल्लेख गरे।

ADVERTISEMENT

उपाध्यक्ष गुरुङले गत भदौ २३ र २४ गतेका घटनाबारे समान दृष्टिकोण नबनिसकेसम्म नेकपासँग तालमेल नहुने धारणा व्यक्त गरे।

ADVERTISEMENT

उनले निर्वाचनका लागि पार्टीले कार्यमूलक सुधारलाई प्राथमिकता दिँदै छरितो र केन्द्रित घोषणापत्र छिट्टै सार्वजनिक गर्ने जानकारी दिए।

ADVERTISEMENT