काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।
जारी सन्देशमार्फत उनले हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद अन्त्य गर्न संयमता अपनाउन दुवै पक्षलाई आग्रह गरेका छन्। धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति तथा चाडपर्वको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले सदियौँदेखि सहअस्तित्वमा रहेका समुदायबीच सहयोग र सहकार्य कायम रहनुपर्ने बताएका छन्। साम्प्रदायिक हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने उनको भनाइ छ।
नेपालले हिन्दू र मुस्लिम समुदाय एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै स्थानीय जनताको सुरक्षा र जीवनरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। रौतहट गृहजिल्ला रहेका उनले समस्याको समाधान आपसी संवादबाट मात्रै सम्भव हुने धारणा राख्दै संयमता अपनाउन अपिल गरेका छन्।
रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपालले तोडफोड, आगजनी र ढुङ्गा हानाहानका घटना बढेपछि प्रशासनले जारी गरेको कफ्र्यु सामान्यीकरणका लागि केन्द्रमा गृहमन्त्रीसँग छलफल भइरहेको जानकारी दिएका छन्।
तीन दिनअघि गौरमा दुई समुदायबीच भएको सामान्य भनाभनबाट सुरु भएको विवाद बढ्दै साम्प्रदायिक तनावमा परिणत भएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ।








