काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोडस्थित होटल द किंग्सबरीमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ३०० जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए । साथै, सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जलमा प्रथम, द्वितीय र तृतीय भएका अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सो अवसरमा कम्पनीले बार्षिक योजनाअन्तर्गत जारी गरेको नेसनल अवार्ड योजनाअन्तर्गत नेसनल रत्न तथा नेसनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिइओ क्लब र नेसनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रुपमा सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनोट ुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए । उनले कम्पनीले ल्याएको सिइओ क्लब कार्यक्रममा नेपालभरबाट १६०० जनाभन्दा बढी अभिकर्ताहरु छनोट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए ।
चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेको समारोहमा सहभागी अभिकर्ताहरुले तालिमबाट थप ऊर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृत खत्रीबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको बताएका थिए ।






