काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले मंगलबार एउटै मञ्च सेयर गरेका छन् ।

४३औं विपी स्मृति दिवसको अवसर पारेर मंगलबार आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधार र बीपी विचार’ पिचार गोष्ठीमा दुवै नेताले एउटै मञ्च सेयर गर्दै भलाकुसारी गरेका हुन् ।

पछिल्लो समय शेखर कोइरालाले सभापति देउवाको नेतृत्वमाथि नै प्रश्न उठाउँदै आएका छन् । उनले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारीका लागि दाबेदारी प्रस्तुत मात्र गरेका छैनन्, प्रधानमन्त्री बन्ने महत्वाकांक्षा बोकेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग निरन्तर संवाद चलाइरहेका छन् ।

ADVERTISEMENT

कांग्रेस अहिले सरकारमा छ । तर कोइराला प्रधानमन्त्री केपी ओलीलाई हटाउने अभियानमा लागेको भन्दै एमाले बैठकमा कुरा उठेको छ । कांग्रेसमा पनि शेखरको रणनीतिक मुभबारे अनेकथरी आशंका उब्जिएको छ । तर पनि कांग्रेस सभापति देउवाले शेखरसँग कुनै इगो नराखीकन उदार ढंगले उनीसँग कुराकानी गर्दै आएका छन् ।

ADVERTISEMENT

शेखर भने बाहिर सार्वजनिक कार्यक्रममा सभापति देउवाविरुद्ध घोचपेच गर्न छुटाउँदैनन् । मंगलबारकै कार्यक्रममा उनले कांग्रेस सरकारमा बसेर लाचार बनेको, एमालेले कांग्रेसको कोर भागमा आक्रमण गर्दा पनि मौन बसेको भन्दै देउवाको आलोचना गरे । उनले एमालेले कांग्रेसलाई सत्तारुढ दलको हैसियतमा नलिएको भन्दै प्रधानमन्त्रीको कटु आलोचना गरे ।

ADVERTISEMENT

उनले ‘घुस काण्ड’को अडियो सार्वजनिक भएका मन्त्री अधिकारीको राजीनामा कांग्रेसले माग्न नसकेको टिप्पणी गरेका हुन् । ‘भ्रष्ट मन्त्रीहरू एकजनाले त राजीनामा दिनुभयो, अझै एकजना बाँकी हुनुहुन्छ, कांग्रेसका साथीहरू कति लाछी भइसकेका रहेछन्, एमाले कास्कीका जिल्ला समितिले भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्छ भनेको छ, तर हामी चुप लागेर बसेका छौँ,’ कोइरालाले भने, ‘योभन्दा लाछीपन के हुन्छ हाम्रो ?’