काठमाडौं। नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टीभित्र सुधार र परिवर्तनको एजेन्डा अघि बढाउन आफू विशेष महाधिवेशनमा सहभागी भएको बताएका छन्। उनले डा. शेखर कोइरालाको राजनीतिक दृष्टि र अडानलाई साकार पार्ने उद्देश्यका साथ आफ्नो सहभागिता रहेको स्पष्ट पारे।

कार्कीका अनुसार डा. कोइरालाले वर्तमान पार्टी नेतृत्वले लिएको टिकट स्वीकार नगर्ने अडान सार्वजनिक रूपमा व्यक्त गरेका थिए, जसले पार्टीभित्र नेतृत्व र प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। “डा. शेखरको आवाजलाई सम्मान र साकार गर्न म यहाँ आएको हुँ,” कार्कीले भने।

उनले डा. कोइरालाले समयमै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने स्पष्ट संकल्प लिएको स्मरण गराए। “उहाँ सधैं नियमित महाधिवेशनको पक्षमा हुनुहुन्थ्यो, तर त्यो सम्भव नभए विशेष महाधिवेशनको विकल्प अघि सार्नुभएको थियो,” कार्कीले बताए।

कार्कीले डा. कोइरालाको भौतिक उपस्थितिभन्दा पनि उनको विचार र राजनीतिक दर्शन महत्वपूर्ण रहेको उल्लेख गरे। उनका अनुसार ती विचारहरू अहिले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले आत्मसात् गर्दै अघि बढाइरहेका छन्।यो अभिव्यक्तिले नेपाली कांग्रेसभित्र नेतृत्व चयन, आन्तरिक लोकतन्त्र र विशेष महाधिवेशन थप बल दिएको देखिन्छ।