चितवन। नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुख पदमा निर्वाचन लड्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’का रूपमा चिन्थे। तर कार्यकालको अन्त्यतर्फ आइपुग्दा उनी भरतपुरको रूपान्तरण गर्ने मेयरका रूपमा स्थापित भएकी छन्। विकास, सुशासन र पूर्वाधार विस्तारमार्फत भरतपुरलाई आधुनिक सहरको रूपमा उभ्याउने उनको योगदानलाई स्थानीयवासीले स्मरणीय मानिरहेका छन्।

उनको नेतृत्वमा भरतपुरमा एक हजार ७२ किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको छ। साँघुरा र धुलाम्य सडक फराकिला बनेका छन् भने २०६ किलोमिटर सडकमा बत्ती जडान गरी सहरलाई झिलिमिली बनाइएको छ। मुख्य बजार र राजमार्ग क्षेत्रमा २३ किलोमिटर विद्युत् तार भूमिगत गरिएको छ। संघीय सरकारको सहयोगमा ८८.६ किलोमिटर लामो रिङरोड निर्माण हुनु भरतपुरको ऐतिहासिक उपलब्धि मानिन्छ।

ADVERTISEMENT

नारायणी नदीमा तटबन्ध निर्माणले बाढीको दीर्घकालीन समाधान गरेको छ भने नदी किनारका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आधार तयार भएको छ। जङ्गली जनावरको जोखिम न्यूनीकरणका लागि २६ किलोमिटर मेसजाली निर्माण गरिएको छ।

कृषि क्षेत्रमा सिँचाइ विस्तार, नारायणी लिफ्ट सिँचाइ सञ्चालन, बोरिङ र ट्युबवेलमार्फत हजारौँ बिघा जमिनमा पानी पुगेको छ। दूध उत्पादक किसानलाई प्रतिलिटर चार रुपैयाँ अनुदान दिँदै हालसम्म करिब २२ करोड रुपैयाँ वितरण गरिएको छ। यसले दूध उत्पादन बढाउन महत्त्वपूर्ण भूमिका खेलेको महानगरको दाबी छ।

ADVERTISEMENT

स्वास्थ्यतर्फ २९ वटै वडामा स्वास्थ्य संस्था स्थापना भई ‘एक वडा, एक स्वास्थ्य संस्था’को लक्ष्य पूरा भएको छ। ज्येष्ठ नागरिक र महिलालाई निःशुल्क सेवा, निःशुल्क एम्बुलेन्स, छोरी जन्मिएपछि बाल उमङ्ग जीवन बिमा कार्यक्रमजस्ता सामाजिक कार्यक्रम सञ्चालनमा छन्। शिक्षा क्षेत्रमा झण्डै १०० विद्यालय भवन निर्माण, विद्यालय बस वितरण र सामुदायिक विद्यालयमा आठ हजारभन्दा बढी विद्यार्थी थपिएका छन्।

डिजिटल हाउस नम्बरिङ, ४१८ सिसिटिभी जडान, सुशासन र आर्थिक पारदर्शितामा भरतपुर देशकै उत्कृष्ट महानगरमध्ये पर्न सफल भएको छ। आन्तरिक आम्दानी करिब एक अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

“बदलिएको, विकसित र उज्यालो भरतपुर आज हामीले पाएका छौँ,” मेयर दाहालले कार्यकालको अन्त्यमा भनिन्। निजी चाहना पन्छाएर सारा समय सहरको विकासमा समर्पित गरेको बताउदै बाट अवकाश लिन लागेको बताइन्।