चितवन। रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले आफ्नो सेवा सुविधाबाट प्राप्त तलब–भत्ताको रकम प्रयोग गरी ३७ विपन्न परिवारको स्वास्थ्य बिमा गराएका छन्। वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट भएका अतिविपन्न तथा गरिब परिवारलाई लक्षित गर्दै उनले पछिल्लो तीन महिनाको तलब–भत्ताबाट बिमा शुल्क व्यहोरेका हुन्।
नगर प्रमुख सापकोटाले यसअघि पनि आफ्नो तलब–भत्ता तथा विभिन्न कार्यक्रमबाट प्राप्त ‘मायाको चिनो’ बराबरको रकम प्रयोग गरी करिब २०० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिसकेका छन्। उनका अनुसार वार्षिक रूपमा करिब तीन हजार ५०० परिवारलाई स्वास्थ्य बिमामा समेट्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको थियो। तर ‘जेनजी आन्दोलन’पछि उक्त कार्यक्रम प्रभावित भई हाल रोकिएको अवस्था छ।
नगरपालिकाले फजुल खर्च नियन्त्रण गर्ने उद्देश्यले औपचारिक कार्यक्रमहरूमा खादा तथा ‘मायाको चिनो’ नलिने नीतिगत निर्णय गरिसकेको छ। सोही निर्णयअनुसार विभिन्न सङ्घ–संस्थाले प्रदान गर्न चाहेको मायाको चिनो बराबरको रकम स्वास्थ्य शाखाको कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ। उक्त कोषबाट संकलित रकम विपन्न वर्गका लागि स्वास्थ्य बिमा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ।
यसअघि पनि नगर प्रमुख सापकोटाले आफ्नो तीन महिनाको तलबबाट रत्ननगर–१२ स्थित एक आधारभूत विद्यालयका विद्यार्थीलाई कापी, कलम र ट्र्याकसुट वितरण गरेका थिए। व्यक्तिगत स्तरमा सामाजिक सहयोगलाई निरन्तरता दिँदै उनले १०० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन्।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगर प्रमुख सापकोटाका अनुसार विपन्न नागरिकले रत्ननगर बकुलहर अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिन सक्नेछन्। उपचारमा समस्या हुने नागरिकलाई सहयोग पुर्याउन ३० लाख रुपैयाँको ‘स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गरिएको छ।
त्यसैगरी भरतपुर अस्पतालमा विपन्न उपचार कोष सञ्चालनमा रहेको छ भने क्यान्सर अस्पताल चितवनमा बिरामीका लागि थप २५ हजार रुपैयाँसम्म उपचार सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ। रत्ननगर–२ मा निःशुल्क ब्लड बैंक सेवा पनि सञ्चालनमा ल्याइएको छ।
नगर प्रमुख सापकोटाले स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा विपन्न वर्गलाई लक्षित गरी थप प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रम समावेश गर्ने योजना रहेको बताएका छन्। उनले राज्यले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य र शिक्षा सेवा उपलब्ध गराउने दिशामा अघि बढ्नुपर्ने धारणा राखेका छन्।
रत्ननगर नगरपालिकाले सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न स्थानीय तहबाटै पहल गर्दै विभिन्न कार्यक्रम अघि बढाइरहेको जनाएको छ।






