काठमाडौं । कांग्रेसको संस्थापन पक्ष आधिकारिकताको माग गर्न शुक्रबार निर्वाचन आयोग पुगेको छ ।

कानुन व्यवसायीसँगको परामर्शपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारी आयोग पुगेका हुन् ।

उनीहरूले केन्द्रीय कार्यसमितिमा आफ्नो बहुमत रहेको र विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले आह्वान नगरेकाले वैधता नभएको दाबी गरिएको छ ।

देउवा कांग्रेसले आफ्ना सबै केन्द्रीय सदस्यलाई आयोग बोलाएको छ । राजधानीमा उपलब्ध केन्द्रीय सदस्य आयोग पुगेका छन् ।

खड्कासहित स-शरीर उपस्थित भएको केन्द्रीय समितिका बहुमत सदस्यले पार्टीले विशेष महाधिवेशन नबोलाएको र गगन थापाको नेतृत्वमा बनाइएको समिति अवैध भएको जिकिर गरेका छन् ।

खड्काले ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण आफूहरूसँग भएको दाबी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्तस रामप्रसाद भण्डारीसमक्ष विवाद छिटो निरुपणका लागि आग्रह गरे ।