काठमाडौं । कांग्रेसको संस्थापन पक्ष आधिकारिकताको माग गर्न शुक्रबार निर्वाचन आयोग गएको छ ।
कानुन व्यवसायीसँगको परामर्शपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारी आयोग पुगेका हुन् । उनीहरूले केन्द्रीय कार्यसमितिमा आफ्नो बहुमत रहेको र विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले आह्वान नगरेकाले वैधता नभएको दाबी गरिएको छ ।
कांग्रेस कार्यवाहक सभापति खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको बताए। खड्काले पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको उनको भनाइ छ ।
यसअघि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकै बेला खड्काले पत्रकार सम्मेलन आयोजना गर्ने भनिएको थियो । तर त्यो त्यत्तिकै स्थगित भएको थियो । आजको पत्रकार सम्मेलनमा खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्कासन गर्नुपर्नाको कारण प्रस्ट्याउनुका साथै विशेष महाधिवेशन पक्षधरलाई फर्किन अपिल गर्ने बुझिएको छ ।
विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति चयन गरेर आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि कांग्रेस विभाजन भएको हो ।







