काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिकी अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सोही आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.४२१ प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव अनुमोदन गरिएको छ । पारित लाभांशमध्ये ४ प्रतिशत शेयर लाभांश र ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ ।

सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत गरेको छ । साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्दै निजको पारिश्रमिकसमेत निर्धारण गरिएको छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा पुस २० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरूले मात्र पारित लाभांश प्राप्त गर्न सक्नेछन् ।