काठमाडौं। भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले आवश्यक कार्यविधि पारित गरेको छ। सोमबार सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ अनुमोदन गरेको हो।

बन्दसत्रमा हालको केन्द्रीय समिति विघटन गरी १५औं महाधिवेशनसम्मका लागि नयाँ कार्यसमिति गठन गर्ने प्रस्ताव पेश गरिएको छ। त्यस्तै, विभिन्न समयमा गठन भएका केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति तथा केन्द्रीय लेखा समिति विघटन गर्ने योजना पनि प्रस्तुत गरिएको छ।

निर्वाचन प्रक्रिया सम्पन्न गर्न एक जना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने प्रस्ताव रहेको छ भने केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिले गरेका निर्णयहरू आवश्यक परे खारेज गर्न सकिने व्यवस्था समावेश गरिएको छ। यसबाहेक, पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनलाई वैधानिक मान्यता दिने प्रस्ताव पनि पेश गरिएको छ।