काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको तथ्यांकअनुसार मुलुकको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । यस अवधिमा कुल वस्तु निर्यात ५८.२ प्रतिशतले बढेर ११६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात वृद्धिदर १६.५ प्रतिशत मात्र थियो ।

गन्तव्यका आधारमा भारततर्फको निर्यात सबैभन्दा बढी ८२.७ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फ ५.५ प्रतिशतले वृद्धि भएको छ । तर चीनतर्फको निर्यात भने ७३.३ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत रूपमा भटमासको तेल, अलैंची, पाम तेल, जुटजन्य वस्तु, जुत्ता र चप्पलको निर्यात बढ्दा जिङ्क सिट, चिया, ऊनी गलैंचा, हस्तकलाका सामग्रीलगायतको निर्यात घटेको छ ।

उता, सोही अवधिमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । आयातमा भारतबाट ५.७ प्रतिशत, चीनबाट २४.६ प्रतिशत र अन्य मुलुकबाट ४०.८ प्रतिशतले वृद्धि भएको छ । भटमासको कच्चा तेल, रासायनिक मल, सुन, सवारी साधन तथा स्पेयर पार्ट्स, यातायात उपकरण र चाँदीको आयात बढेको छ भने खाने तेल, दाल, लसुन, हट रोल्ड शिट इन क्वाइललगायतको आयात घटेको छ ।

निर्यात र आयात दुबै बढेसँगै व्यापार घाटा पनि १०.५ प्रतिशतले बढेर ६४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १.५ प्रतिशतले मात्र बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ११.१ प्रतिशत थियो ।

रिपोर्टअनुसार सेवा खातामा समेत दबाब देखिएको छ । पाँच महिनामा खुद सेवा आय ३६ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको छ । यस अवधिमा भ्रमण आय ३.७ प्रतिशतले घटेर ३३ अर्ब ९७ करोड रुपैयाँमा सीमित हुँदा भ्रमण व्यय भने ५.३ प्रतिशतले बढेर ८८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय ५६ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

निर्यात–आयात मूल्य सूचकाङ्कतर्फ हेर्दा, २०८२ मंसिरमा निर्यातको एकाइ मूल्य सूचकाङ्क ०.४ प्रतिशत र आयात मूल्य सूचकाङ्क १.१ प्रतिशतले बढेको छ । यस अवधिमा व्यापारको सर्त (Terms of Trade) भने ०.७ प्रतिशतले कमजोर बनेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनले निर्यात वृद्धिमा सुधार देखिए पनि बढ्दो आयात, व्यापार घाटा र सेवा खाताको दबाब अर्थतन्त्रका लागि चुनौती कायमै रहेको संकेत गरेको छ ।