कास्की। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीले १०० सिटभन्दा बढी जित्ने लक्ष्यसहित अघि बढ्नुपर्ने बताएका छन्। आज कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले चुनावी नारामै आत्मविश्वास झल्किनुपर्ने उल्लेख गर्दै अब “अब कि बार यो सरकार” होइन, “अब कि बार सय पार” भन्ने नारा लगाउन कार्यकर्तालाई आग्रह गरे।

मधेस भ्रमणका क्रममा केही स्थानमा “अब कि बार यो सरकार” भन्ने नारा सुनेको उल्लेख गर्दै उनले त्यस्तो नारा प्रयोग नगर्न सुझाव दिए। “नारा नै लाउने हो भने यसपालि ‘अब कि बार सय पार’ भनेर लाउनुस्,” उनले भने, “त्यहाँ पुग्न सकिन्छ, बहुमतसम्म पुग्न सकिन्छ। तर त्यसका लागि दुःख र मेहनत गर्नैपर्छ।”

ADVERTISEMENT

सभापति थापाले पार्टीका हरेक सदस्यले आफूलाई उम्मेदवारकै रूपमा ठानेर काम गर्नुपर्नेमा जोड दिए। एक समय १० लाख क्रियाशील सदस्य भएको र वडा–वडासम्म मजबुत संगठन रहेको पार्टी भएकाले कांग्रेससँग आफ्नै बल र क्षमता रहेको उनको भनाइ थियो। “हाम्रो तागत हामीसँगै छ, त्यसलाई बुझ्नुपर्छ र सम्झनुपर्छ,” उनले भने।

ADVERTISEMENT

तल्लो तहसम्म पुगेर जनतामाझ कांग्रेस बदलिएर आएको सन्देश दिन आवश्यक रहेको उल्लेख गर्दै सभापति थापाले कांग्रेसले देश सम्हाल्न र व्यवस्थामा सुधार गर्न सक्छ भन्ने विश्वास दिलाउनुपर्ने बताए। “बदलिएर आएको कांग्रेसले देशलाई पनि बदल्छ,” उनले भने।

सभापति थापाले सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर तल्लो तहसम्म सक्रिय हुन आह्वान गर्दै यही विश्वासका साथ चुनावी मैदानमा होमिन आग्रह गरे। अन्त्यमा उनले उपस्थित सबैलाई धन्यवाद दिँदै “जय नेपाल” का साथ आफ्नो सम्बोधन टुंग्याए।

ADVERTISEMENT