काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र नेपालस्थित बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ।

उक्त भेटमा नेपालका दिगो आर्थिक विकास, सुशासन, जवाफदेहिता र पारदर्शी शासन प्रणालीका लागि आवश्यक सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

ADVERTISEMENT

भेटका क्रममा मन्त्री सिन्हाले नेपालका विकासका प्राथमिकताहरू, विशेषगरी औद्योगिक विकास, व्यापार प्रबर्द्धन र निजी क्षेत्र सुदृढीकरणका विषयमा ध्यानाकर्षण गराउँदै दिगो विकासका लागि ब्रिटेनको निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे।

ADVERTISEMENT

उनले नेपालमा भएको राजनीतिक स्थायित्व र नीति सुधारले लगानीको वातावरण सुधारिएको बताउँदै बेलायती निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गरे।

राजदूत फेनले नेपालसँगको दीर्घकालीन विकास साझेदारीप्रति बेलायतको प्रतिबद्धता दोहोर्‍याउँदै औद्योगिक विकास, वैदेशिक व्यापार, बौद्धिक सम्पत्ति अधिकार तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्न बेलायत तयार रहेको बताए।

ADVERTISEMENT

सन २०२४ मा हस्ताक्षर भएको ग्रिन ग्रोथ नेपाल जीजीएन र नेपाल इन बिजिनेस९एनआईबी० कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट नेपालको हरित उद्योग, समावेशी विकास र गरिबी निवारणमा योगदान पुग्ने बिषयमा छलफल भएको थियो ।

भेटमा सन् २०२६ पछि नेपाल कम विकसित देशको सूचीबाट बाहिरिने तयारी, सन् २०३० सम्मको दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता, र दुबै देशबीच व्यापार तथा लगानी प्रवर्द्धनका उपायहरूबारे पनि विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री सिन्हाले नेपाल–बेलायत सम्बन्ध ऐतिहासिक र विश्वासमूलक रहेको उल्लेख गर्दै भावी दिनमा पारस्परिक हितका क्षेत्रहरूमा सहकार्यलाई अझ सुदृढ बनाइने विश्वास व्यक्त गरे।