काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनकै कारण पार्टी फुट्छ भनेर कल्पनासमेत नगर्न आग्रह गरेका छन् ।

शुक्रबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन सानेपा पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी नफुट्ने दाबी गरे ।

ADVERTISEMENT

‘विशेष महाधिवेशनकै कारण कांग्रेस फुट्छ भनेर कसैले सोचेको छ भने त्यस्तो कल्पना नगर्न म अनुरोध गर्छु । सिंगो समाज र देशलाई जुटाउन लागिरहेको बेला कांग्रेस आफैं फुट्छ भनेर कल्पनासमेत नगर्नुहोला । मैले भनेको कुरा लेखेर रेकर्ड गरेर राख्नुहोला,’ उनले भने । शर्माले विशेष महाधिवेशनकै लागि भृकुटीमण्डपको हल बुकिङ भएको छ नि भन्ने पत्रकारको प्रश्नमा भने, ‘बुकिङ गर्दा के नै फरक पर्छ र ? हदमै कार्यक्रम हुने त हो ।’

ADVERTISEMENT

कांग्रेस महामन्त्रीद्वय गगन थापा र शर्माले नियमित महाधिवेशनको कार्यतालिका स्थगित गर्ने निर्णय गरेका छन् । बिहीबार दुवै महामन्त्रीले नियमित महाधिवेशनको कार्यतालिका स्थगित गर्दै पुस २७ र २८ मा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । थापा र शर्माको यो निर्णयसँगै कांग्रेस विवाद उत्कर्षमा पुगेको हो । आजकाे बैठकले विशेष महाधिवेशनकाे विषयमा एउटा निर्णय गर्ने नेताहरुकाे भनाइ छ । आजै विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

कांग्रेसको संस्थापन पक्षले भने अब चुनावअघि नियमित महाधिवेशनको कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको संस्थापन पक्षका नेताहरुले यस्तो निर्णय गरेका हुन् । यसमा डा.शेखर कोइरालाको पनि समर्थन रहेको देखिएको छ ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशन माग्दै केन्द्रमा हस्ताक्षर बुझाएका थिए। विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी विधानकाे व्यवस्था अनुसार नै महामन्त्रीद्वय अघि बढेका छन्। तर संस्थापन पक्ष भने नियमित कार्यतालिका नै परिवर्तन गरेर चुनावपछि आगामी २०८३ बैशाख- जेठमा मात्रै महाधिवेशन गर्ने पक्षमा छ।