काठमाडौं । चितवनस्थित सहारा सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझ्न रास्वपा सभापति रवि लामिछाने मंगलबार बिहान भरतपुर पुगेका छन् । चितवन जिल्ला अदालतमा तारेख बुझ्न उनी त्यहाँ पुगेका हुन् ।
सोमबार मध्यरातिसम्म काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनसँग भेटवार्ता गरेका रवि बिहानै प्लेनमार्फत चितवन गएका हुन् । यसपछि लगत्तै उनी पोखरा, वीरगन्ज जाने भएका छन् । रविविरुद्ध काठमाडौं, पोखरा, बुटवल, चितवन र वीरगन्जमा सहकारी ठगीसम्बन्धी मुद्दा परेको छ । उनले सोमबार काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका थिए ।
तारेख बुझेपछि रविले आफूलाई एमाले अध्यक्ष केपी ओलीले लगाएको ‘गुन’ तिर्न अदालत धाउनुपरेको भन्दै कटाक्ष गरेका थिए । केपी ओलीले आफूलाई ‘गुन’ लगाएको भन्ने गरेको र त्यही ‘गुन’तिर्नका लागि सवै जिल्लामा सातै दिन तारेखका लागि जानुपरेको उनले बताए । देशभरका अदालतमा धाउनुपर्दा जीउभरी किला ठोकेको जस्तो महसुस भएको उनको भनाइ थियाे ।
रवि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएका हुन् । यद्यपि उनीविरुद्ध पाँचवटै जिल्ला अदालतमा मुद्दा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन अवस्थामा छ ।








