म्याग्दी। दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ का धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । योजनाको हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा लिइएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत यस खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्ने कार्य भइरहेको छ ।

ADVERTISEMENT

पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँका अनुसार २०८१ साल जेठ २० गते रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता भई दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको हो । ताकम खण्डमा करिब ९ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी पूरा भइसकेको छ भने संरचना निर्माणपछि बेस र सबबेस बिछ्याउने काम सम्पन्न गरिएको छ ।

ADVERTISEMENT

छ किलोमिटर लामो सडकलाई फराकिलो बनाउने, नाली तथा टेवा पर्खाल निर्माण पनि अन्तिम चरणमा पुगेको छ । यसअघि चारदेखि पाँच मिटर चौडाइ रहेको सडकलाई आठ मिटर फराकिलो बनाइँदैछ । निर्माण कार्यले गति लिएसँगै स्थानीयवासी उत्साहित भएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।

निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्रै सडक स्तरोन्नति सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । धारापानीमा २०६६ सालमै सडक पुगेको थियो र हाल यो मार्ग धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाको प्रमुख आवागमन मार्ग बनेको छ ।

यसै सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (७ किमी) र मच्छिम–मुना (४ किमी) खण्डमा अक्सफाल्ट प्रविधिको कालोपत्र तथा ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा अर्को ठेक्का सम्झौता भई काम सुरु भइसकेको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले जानकारी दिए । २७ महिनाको ठेक्का अवधिसहित सुरु गरिएको यो आयोजना म्याग्दी, बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दाका लागि पोखरा–काठमाडौँ दूरी करिब ७० किलोमिटर छोट्याउने भएकाले रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ ।