काठमाडौं – बैंकिङ क्षेत्रका रहेको अधिक तरलतालाई वाञ्छित सिमामा कायम राख्नको लागि नेपाल राष्ट्र बैंक सक्रिय देखिएको छ । राष्ट्र बैकले चालु आर्थिक वर्ष २०८३÷०८४ को सुरुवाती अवधिमा बैंकिङ प्रणालीबाट ठूलो परिमाणमा तरलता प्रशोचन गरेको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार ३० सेप्टेम्बर २०२६ अर्थात यही असोज १४ गते बुधबारसम्म विभिन्न मौद्रिक उपकरणमार्फत कुल चार खर्ब ८१ अर्ब ३६ करोड रुपैयाँको प्रस्ताव रकममध्ये चार खर्ब ६९ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा तरलता प्रशोचन गर्ने उपकरण ८९ पटक सञ्चालन गरिएको छ । ती उपकरणमार्फत भएको कारोबारपछि एक खर्ब ३५ अर्ब ९१ करोड रुपैयाँ बराबरको रकम बक्यौता रहेको छ ।
राष्ट्र बैंकले चालु आव सुरु भएपछि सामान्य उपकरणमार्फत ३९ पटक गरी कुल एक खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ प्रस्ताव गरेकोमा एक खर्ब २८ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअन्तर्गत ३० दिने, ६० दिने सहितका बिभिन्न किसिमका निक्षेप उपकरण २२ पटक सञ्चालन भएको छ । यि निक्षेप उपकरणमार्फत कुल ९९ अर्ब ८० करोड रुपैयाँ प्रस्ताव रकम रहेकोमा ८८ अर्ब २३ करोड रुपैयाँ कारोबार भएको र ९३ अर्ब पाँच करोड रुपैयाँ बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी राष्ट्र बैंक बन्डमार्फत १७ पटक तरलता प्रशोचन भएको छ । यस उपकरणमा ४० अर्ब रुपैयाँ प्रस्ताव तथा ४० अर्ब रुपैयाँकै कारोबार भएको छ भने सोही रकम बक्यौता रहेको छ । समीक्षा अवधिमा रिभर्स रिपो र आउटराइट सेल भने सञ्चालन नगरेको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकले अन्तरबैंक रिपो करिडोर अन्तर्गत ५० पटक तरलता प्रशोचन गरेको छ । यसअन्तर्गत कुल तीन खर्ब ४१ अर्ब ५६ करोड रुपैयाँ प्रस्ताव गरिएकोमा तीन खर्ब ४१ अर्ब ५६ करोड रुपैयाँकै कारोबार भएको छ ।
यसअन्तर्गत स्ट्यान्डिङ डिपोजिट फेसिलिटी मार्फत उक्त रकम कारोबार भएको हो । यसअन्तर्गतको बक्यौता रकम भने दुई अर्ब ८६ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा राष्ट्र बैंकले तरलता प्रशोचनतर्फ कुल चार खर्ब ८१ अर्ब ३६ करोड रुपैयाँ प्रस्ताव गरेको छ । यस अन्र्तगत कुल चार खर्ब ६९ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार गरेको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता भएकै कारण बैंकिङ प्रणालीमा तरलता उपलब्ध गराउने अर्थात् तरलता प्रवाह गर्ने कुनैपनि उपकरण समीक्षा अवधिमा सञ्चालन गरिएको छैन ।
सामान्य उपकरण अन्तर्गतको रिपो र आउटराइट पर्चेज तथा ओभरनाइट रिपो र स्ट्यान्डिङ लिक्विडिटी फेसिलिटी सबैमा प्रस्ताव, कारोबार र बक्यौता रकम शून्य रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।







