काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनवासीलाई सम्बोधन गरेर काठमाडौं फर्केका छन् ।
शुक्रबार रुपन्देही जिल्ला अदालतमा पौने चार करोड धरौटी बुझाएर छुटेलगत्तै उनी चितवन आएका थिए । शनिबार भरतपुरको चौबीसकोटीमा आयोजित आमसभालाई सम्बोधन गरेर उनले आफूमाथि झुटा मुद्दा लगाउने अपदस्थ भएको टिप्पणी गरे ।
रविले एमाले अध्यक्ष केपी ओलीलाई इंगित गर्दै प्रतिशोधपूर्ण व्यवहार गर्ने नेता हेलिकप्टरमा झुन्डिएर भाग्न बाध्य भएको टिप्पणी गरेका छन् । लामिछानेले आफूमाथि झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएको र त्यसको भागाभाग सबैले देखेको बताए ।
‘मलाई झुटा मुद्दा लगाएर फसाउने सरकारको भागाभाग हामी सबैले देख्यौँ । प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भाग्नुपर्यो,’ उनले भने । उनले त्यही सरकारले आफूमाथि लगाएको मुद्दा बोकेर बाँच्नुपरेको गुनासो पनि गरे ।
लामिछानेले व्यक्तिगत लाभका लागि केही नगरेको दाबी गर्दै रास्वपा देश र जनताका पक्षमा लड्ने पार्टी भएको बताए । प्रतिनिधिसभा निर्वाचनमा विजयी भए पनि मन्त्री बन्न नपाउने प्रश्न उठिरहेको प्रसंगमा उनले भने, ‘सांसद जिते पनि मन्त्री बन्न पाउँदैन रे भन्दै पत्रकारहरूले प्रश्न गर्छन् । यो हुन पाउँदैन रे, ऊ हुन पाउँदैन रे । के मान्छे मात्र भएर बाँच्न पाउँछु मरु मान्छे भएर बाँचे पनि भ्रष्टाचारविरुद्ध उभिनेछु ।’
चितवनबाट शनिबार नै रवि काठमाडौं फर्केका छन् । उनी नौ महिनापछि कारागारबाट मुक्त भएका हुन् । यद्यपि उनीमाथिको सहकारी ठगीको मुद्दा विभिन्न जिल्ला अदालतमा विचाराधीन छन् ।
शनिबार काठमाडौं आएलगतै रविले बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहिद परिवारसँग छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूलाई हत्या गरिएको भन्दै सहिद परिवारको न्यायका लागि लड्ने बताए ।
सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ । उनले जेनजी र जेनजी सहिद परिवारको मागलाई पूरा गर्नलागि रास्वपा र आफ्नो ऐक्यबद्धता रहेको जिकिर गरे ।








