काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते (शुक्रबार) विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि वातावरण बनाइदिन भन्दै मुख्यमन्त्री कार्यालयले बुधबार मधेश प्रदेश सभामा पत्र दर्ता गरेको छ । यादवले शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने कार्यक्रम छ ।

दुई साताअघि सात दलीय गठबन्धनबाट यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले मंसिर २४ गते नै विश्वासको मत लिने तयारी गरे पनि गठबन्धनका दल तयार नभएपछि रोकिएको छ । यादवले हालै मात्र पाँचजना मन्त्री विस्तार गरेका छन् । तर जनमत पार्टी भने रुष्ट बनेको छ । उसले सरकार छाड्ने धम्की दिन थालिसकेको छ ।

यसैबीच, मधेश प्रदेश सभाको सभामुख पद चयन प्रक्रिया सुरु भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउत इशरले रिक्त सभामुख पदका लागि चयन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएकी छन् ।

उपसभामुख राउतले आगामी पुस ६ गत्ते आइतबार सभामुख पदका लागि निर्वाचन हुने जानकारी दिएकी छन् । उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालालाई सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशनसमेत दिएकी छन् ।

गत मंसिर ३ गत्ते तत्कालीन सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाअभियोग बहुमतले पारित भएपछि सभामुखको पद रिक्त छ । प्रदेश सभाको बैठक पुस ४ गत्ते शुक्रबार दिउँसो ४ बसेसम्मका लागि स्थगित भएको छ ।