काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.७० अंक बढेर २६२५.७० विन्दुमा पुगेको छ।

बुधबार १३ मध्ये १० उपसमूहको परिसूचक बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशत बढेको छ। होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।

ADVERTISEMENT

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार तीन अर्ब २९ करोडको सेयर खरिदबिक्री भएकोमा आज ३३२ स्टकको ५८ हजार ९६ पटकको कारोबारमा चार अर्ब पाँच करोड ३७ लाख २० हजार रुपैयाँबराबरको कारोबार भएको छ।

सबैभन्दा धेरै युनियन हाइड्रोपावर कम्पनीको २२ करोड ७८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। मञ्जुश्री फाइनान्सको साढे १३ करोड र ङादी ग्रुप पावरको करिब साढे ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बुधबार स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । चिरख्वा हाइड्रोपावरको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।