काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगमा बयान दिन जानुपर्ने बताएका छन् ।

एमालेको आसन्न महाधिवेशनमा अध्यक्षका लागि ओलीसँगै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका उनले वैधानिक सरकारले बनाएको न्यायिक आयोगमा बयान दिन नजाने कुरा जिम्मेवार पार्टीका अध्यक्षले गर्न नहुने बताए । बुधबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा पोखरेलले आयोग अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा लेखेका कुराहरु आपत्तिजनक रहेको र उनले नेतृत्व गरेको आयोगले निष्पक्ष रुपमा काम गर्छ भन्नेमा सन्देह रहे पनि ओलीले बयान दिएर सघाउनुपर्ने धारणा राखे ।

ADVERTISEMENT

आयोगले जेनजी आन्दोलनमा भएको दमन र ध्वंशको छानबिन अन्तिम चरणमा पुर्याएको छ । अब आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी गरेको छ । तर एमालेले ओलीले बयान दिन जान नहुने भन्दै प्रतिवाद गरेको छ । महाधिवेशनको मुखमै ओलीलाई बयान दिन आयोगले बाध्य पार्ने, नभए प्रहरी परिचालन गर्ने तयारी गरिरहेका बेला पोखरेलको अभिव्यक्तिले ओली दबाबमा परेका छन् ।

पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर रहेको बताएका छन्। उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन आफूहरु लागिपरेको प्रष्ट पारे। ‘पार्टीको आन्तरिक लोकतन्त्र कमजोर छ, सामूहिक निर्णय हुँदैन। त्यसका लागि पनि हाम्रो लडाईँ हो,’ उनले भने ।

ADVERTISEMENT

महाधिवेशनमा तत्काल सहमतिको सम्भावना नदेखिएको पोखरेलले बताए। अध्यक्ष ओलीले आफूबाहेकका अन्य व्यक्तिलाई अघि सारे सहमति हुन सक्ने उनको भनाइ छ। ‘तत्काल महाधिवेशनमा सहमतिको सम्भावना हुने देखिँदैन। अध्यक्षले आफूबाहेक अरु कुनै व्यक्तिलाई अघि सार्नुभयो भने चाहिँ सहमति हुनसक्छ। त्यसमा मेरो पनि कुनै विमति हुँदैन,’ पोखरेलले भने।