पाेखरा । पत्रपत्रिका पढेपछि सामान्यतया: हामी त्यसको पुन: प्रयोग गर्दैनौ । यसलाई काम नलाग्ने वस्तुको रुपमा लिइन्छ । पोखराका केही महिलाले भने पत्रपत्रिका उपयोग गरेर पेन्सिल बनाइरहेका छन् ।
कोइकाको आर्थिक सहयोगमा पोख्रेली सिसा कलम नामको परियोजना अन्तर्गत ‘पेपर पेन्सिल’ परियोजना सञ्चालनमा ल्याइएको हो । यो कामका लागि सुरुमा पत्रिका संकलन गरिन्छ र आवश्यकताअनुसार काटिन्छ अनि गम लगाएर एक अर्कामा टाँसिन्छ । त्यसपछि लिड राखेर पत्रिकालाई मोडिन्छ । एकैपटक १०-१५ वटासम्म बनाउन सकिन्छ ।
लिडसहित रोल गरेको पत्रिकालाई सुकाइन्छ र मेसिनमा राखेर कटिङ गरिन्छ । मेसिनबाट निस्किएको पेन्सिल सिधै घाममा सुकाउन मिल्दैन । सुरुमा छायामा सुकाएर मात्र घाममा राखिन्छ । यसरी सजिलैसँग पेपर पेन्सिल तयार हुन्छ ।
उद्यमी शान्ति अधिकारीका अनुसार यो पेन्सिल वातावरणमैत्री रहेको छ । यसले गर्दा पोखरा महानगरपालिकामा फोहोर ब्यवस्थापनमा टेवा पुगेको छ। महानगरले स्थानिय उत्पादनलाई प्राथामिकता राखी उद्यमीलाई प्रोत्साहन दिने जस्ता योजना बनाउनुपर्छ । युवाहरुलाई स्वदेशमै रोक्न यसले सहयोग पुग्ने उनको भनाइ छ ।










