काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई बिहीबार उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । महरा गत असोज २६ गते पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनीविरुद्ध सीआइबीले अनुसन्धान गरेको थियो । महराले आफूसँग कुरा आएपछि सहजीकरण गरिदिएको स्वीकार गरेका थिए । सुन तस्करी प्रकरणमा उनका छोरा निर्मल पनि मुछिएका छन् ।







