काठमाडौं । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण विराटनगरस्थित कोइराला निवास पुगेका छन् । भुटानी शरणार्थी काण्डमा मुछिएर जेलमुक्तपछि उनी बुधबार पहिलोपटक सार्वजनिक रूपमा देखिए।

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिने खाँण अचानक कोइराला निवासमा देखिएपछि कांग्रेस वृत्तमा अनेक अड्कलबाजी सुरु भएका छन् । सर्वोच्च अदालतले केही दिनपछि भुटानी शरणार्थी प्रकरणको फैसला सुनाउने चर्चा चलिरहेका बेला खाँणको सक्रियतालाई अर्थपूर्ण मानिएको छ । खाँण रुपन्देशी ३ मा उपनिर्वाचनको तयारीमा समेत जुटिसकेका छन् ।

नेपाल–भारत युवा मैत्री संघको कार्यक्रममा सहभागी हुन विराटनगर आएका खाँणको कोइराला निवासको भ्रमणलाई राजनीतिक रूपमा सामान्य मानिएको छैन। संघको अध्यक्षमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव छन् । यादव पनि देउवा निकट हुन् ।

खाँण पुग्नुअघि नै कोइराला निवासमा विराटनगरका कांग्रेस नेताहरू र कार्यकर्ताको बाक्लो उपस्थिति थियो। उनले त्यहाँ सञ्चारकर्मीहरूसँग कुराकानी मात्रै गरेनन्, कार्यकर्ताहरूसँग घनिष्ठ भेटघाट पनि गरे। ‘कोइराला निवास मेरा लागि तीर्थ हो। यो पवित्र भूमि हो। यहाँ कृष्णप्रसाद, बीपी र गिरिजा बसेका थिए। मैले यो भूमिलाई स्पर्श गर्ने चाहना राखेको थिएँ, आज त्यो पूरा भयो,’ उनले भने।

कांग्रेसको १५औँ महाधिवेशनको चर्चा तीव्र हुँदै गर्दा समीकरणमा पनि फेरबदल हुन थालेको छ । देउवा तेस्रोपटक सभापतिमा उठ्न नमिल्ने भएकाले उनी पक्षका नेता विभाजित हुन थालेका छन् । सभापतिमा शेखर कोइरालाको सम्भावित उम्मेदवारीलाई लिएर पार्टीभित्र बहस सुरु भइसकेको छ।

भुटानी शरणार्थी प्रकरणमा पार्टी नेतृत्वले अपनाएको भूमिकाप्रति खाँणको गुनासो अझै बाँकी छ। उनले अनुशासन समितिको कामप्रति पनि खुलेर आलोचना गरे। ‘अनुशासन समितिले पक्षपातपूर्ण निर्णय गर्‍यो। प्रक्रिया पालना गरेन। यस्तो समितिले पार्टीलाई बलियो बनाउँदैन,’ उनले भने। खाँण केवल भावनात्मक भ्रमणमा होइन, रणनीतिक सन्देश दिन कोइराला निवास आएको विश्लेषण सुरु भएको छ ।