काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको बहुचर्चित प्रकरणको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ। जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि सुरु भएको बहस बिहीबार पनि टुंगिन नसकेपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दालाई पुनः हेर्दाहेर्दैमा राखेको हो।
अदालत प्रशासनका अनुसार नेपाल सरकारका तर्फबाट आजको बहस सकिएको छ। अब शुक्रबार जाहेरवालाहरूको बहस सुरु हुनेछ भने त्यसपछि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आफ्नो तर्क प्रस्तुत गर्नेछन्।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले बुधबारदेखि मुद्दाको सुनुवाइ अघि बढेको जानकारी दिएका छन्।
यो प्रकरणमा तीन चरणमा मुद्दा दायर गरिएको थियो। पहिलो चरणमा २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो। त्यसपछि २०८१ वैशाख ९ गते र २०८१ साउन २९ गते बेचन झाविरुद्ध थप मुद्दा दायर गरिएको हो।
हाल रायमाझी, खाँण र बेचन झासहितका प्रमुख प्रतिवादी थुनामै छन्। उनीहरुविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ।
मुद्दामा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन, सागर राई, प्रतिक थापालगायतलाई पनि प्रतिवादी बनाइएको छ।








