काठमाडौं । महाधिवेशनको मिति तोक्ने विषयले कांग्रेस विवादमा तिक्तता बढ्दै गएको छ । चुनावअघि नै १५औं महाधिवेशन गर्ने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावलाई सभापति शेरबहादुर देउवा पक्षका पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यले चुनौती दिँदै आएका छन् । जसकारण लगातार तेस्रोपटक सूचना निकालेर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ ।

कात्तिक २७ पछि कांग्रेस बैठक लगातार स्थगित हुँदै आएको छ । अब शनिबार दिउँसोका लागि बोलाइएको छ । तर देउवा पक्षका नेताहरूले चुनावपछि मात्रै महाधिवेशन गर्ने अडान राखेकाले शनिबारको बैठक पनि बस्नेमा संशय उत्पन्न भएको छ । देउवा निकट नेताहरूले सामाजिक सञ्जालमार्फत क्याम्पेनिङ सुरु गरिसकेका छन् ।

तर संस्थापन पक्षको रणनीति र दाउलाई भने महामन्त्रीद्वय थापा र शर्माले पूरा हुन नदिने बताइसकेका छन् । कतिसम्म भने चुनावअघि महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको बाटो खुलेन भने उम्मेदवार नै नबन्ने चेतावनीसमेत उनीहरूले दिएका छन्। सभापति देउवा पक्षका २५ केन्द्रीय सदस्यले शुक्रबार महाराजगञ्जस्थित अरिकल होटलमा दुई महामन्त्रीसँग भेटेर महाधिवेशनबारे ध्यानाकर्षण गराएपछि उनीहरूले यस्तो अडान सार्वजनिक गरेका हुन् ।

दुवै महामन्त्रीले पार्टीको विधानअनुसार नियमित वा विशेष महाधिवेशन नै प्राथमिकता भएको बताएका छन् । विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर असोज २९ मा केन्द्रीय कार्यालयमा बुझाइसकिएको छ । विधानअनुसार लिखित माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ । उक्त अवधि पुस २८ मा सकिँदै छ।

सभापति देउवा पक्षका नेताहरूले बिहीबार देउवासँग र शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए। देउवाले महाधिवेशनप्रति सकारात्मक रहेको, तर कार्यवाहक सभापति तोकिएको कारण सक्रिय हस्तक्षेप नगर्ने बताएका थिए । खड्काले भने पार्टीभित्र विवाद र विभाजन नहोस् भनेर आफू समन्वयरत रहेको बताएका थिए । तर उनले ठोस निर्णय लिन सकेका छैनन् । देउवा पक्षका नेताहरू बहुमतको आधारमा निर्णय गरेर जानुपर्ने मनस्थितिमा छन् ।