काठमाडौं । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई बचतपत्रको बिक्री खुला गरेको छ ।

कार्यालयले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ‘नागरिक बचतपत्र–२०८७’ र ५० करोडबराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गर्न लागेको हो ।

पाँच वर्ष अवधिका यी दुवै बचतपत्र खरिदका निम्ति आउँदो मंसिर २५ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर २८ गते निष्कासन गरिनेछ । नागरिक बचतपत्रमा ६.५ र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ ।

बचतपत्रको ब्याज हरेक ६र६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ । घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ ।

नागरिक बचतपत्र नेपाली र गैरआवासीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । वैदेशिक रोजगार बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा त्यहाँबाट फर्केको ६ महिना पुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यका नाममा समेत गरिन गर्न सक्नेछन् ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स  डीओएमएस प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचतपत्र खरिदका निम्ति आवेदन दिन सकिनेछ ।

अघिल्ला वर्षमा नागरिक बचतपत्र शतप्रतिशत बिक्री र वैदेशिक रोजगार बचतपत्रमा लगानीकर्ताको न्यून चासो देखिने गरेको छ । लगानीकर्तालाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा विगतका वर्षमा निष्कासन गरिएको रकमभन्दा कम मात्र खरिद भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए ।

“बचतपत्र के हो रु किन लगानी गर्ने रु कसरी लगानी गर्ने रु जस्ता विषयमा धेरैलाई जानकारी छैन । पछिल्ला वर्षमा खरिद गर्नेहरूको संख्या बढ्दै गए पनि अझै धेरैले जानकारी पाएका छैनन्,” उनले भने ।

नागरिक बचतपत्रका निम्ति पछिल्ला चार दिनमा मात्र ८० करोड रुपैयाँबराबरको आवेदन परिसकेको पुडासैनीले जानकारी दिए । यो वर्ष तोकिएको समयअघि नै खरिद भइसक्ने अनुमान गरिएको उनको भनाइ छ ।

उनका अनुसार, पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउने यी बचतपत्र ‘स्टक’का रूपमा जारी हुनेछन् । यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक रहेको जनाउँदै पुडासैनीले यसको महत्त्व र फाइदाबारे अधिकांश नागरिकलाई जानकारी नभएको बताए ।

“लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् । लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण बचतपत्र हो,” उनले भने ।

उपसचिव पुडासैनीका अनुसार, बचतपत्र पूर्ण रूपमा सुरक्षित लगानी हो । बचतपत्रको ब्याज रकम हरेक ६ महिनामा खरिदकर्ताको बैंक खातामा सिधै जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने पुडासैनीले उल्लेख गरे ।

“दोस्रो बजारमा सहजै कारोबार हुने तथा बचतपत्रधारकले जुनसुकै बेला वा बेच्न चाहेको बेला बैंक तथा वित्तीय संस्थाले किन्नुपर्ने बाध्यात्मक व्यवस्था छ । सोहीकारण बचतपत्रलाई तत्काल तरलतामा रूपान्तरण गर्न सकिन्छ । अर्थात्, आफूले खरिद गरेको बचतपत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ,” उनले भने ।