काठमाडौं । गरिमा विकास बैंकको उन्नाइसौं वार्षिक साधारणसभा पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले विकास बैंकको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको विकास बैंकको २०८२ असार मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तथा आ.व.२०८२/८३ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायतका अन्य प्रस्तावहरु पारित गरेको छ ।

साधारणसभाले विशेष प्रस्तावअन्तर्गत हालको अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड पुर्‍याउने, केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-३, बालुवाटारमा अवस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध–पत्र, नियमावली संसोधन गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ ।

हाल विकास बैंकको चुक्ता पुँजी पाँच अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ र पैसा ५७ रहेकोमा वार्षिक साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस सेयर वितरणपछि विकास बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ पुग्नेछ ।

देशभर १२६ शाखा कार्यालयहरु र ५१ एटिए रहेको विकास बैंकले नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।