काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ को लागि विनियोजन बजेटमध्ये बुुधबार  एकैदिन २१ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले विकास निर्माणको लागि विनियोजन गरेको ३ खर्ब ५२ अर्ब रुपैयाँको बजेटमा २५ असारको एक दिनमा मात्रै पौन २२ अर्ब रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार बुुधबार सम्ममा कुल पुँजीगत बजेटमध्ये २ खर्ब ८ अर्ब रुपैयाँ रुपैयाँ खर्च भएको छ । यस्तो खर्च कुल पुँजीगत बजेटको ५९।१३ प्रतिशत पुगेको छ ।

सरकारी खाता रोक्का हुने अन्तिम दिन सरकारको बजेट प्रणालीबाट करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ । सरकारी खाता एक सातालाई रोक्का हुने भएपछि २५ असारमा विकास निर्माणका लागि छुट्याइएको पुँजीगत बजेट खर्च बढेको हो ।

यस्तो खर्च गत वर्ष असार २५ मा १४ अर्ब ४० करोड रुपैयाँ थियो । २०८० को असार २४ मा एकैदिन १९ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको थियो भने अघिल्लो वर्ष २०७९ असार २५ मा एकैदिन १४ अर्ब ७२ करोड एकैदिन खर्च भएको तथ्यांकले देखाएको छ ।

यो तथ्यांक अनुसार एकैदिन भएको खर्च पुँजीगत खर्च एकैदिन हुनेमा अहिलेसम्मकै धेरै हो । गएरातिदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का भएका छन् ।