काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो महिना साउनमा सरकारले  ८५ अर्ब १९ करोड आम्दानी गर्दा ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो ।

सरकारले चालु आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट  ८० अर्ब ६७ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ दशमलव ०९ प्रतिशत र गैरकर राजस्वबाट तीन अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४६ प्रतिशत सङ्कलन भएको विवरणमा उल्लेख छ ।

ADVERTISEMENT

यस्तै, वैदेशिक अनुदानबाट रू ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष  १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व,  एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख गैरकर राजस्व र रू ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य छ ।

चालु आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याइएकामा साउन मसान्तसम्ममा ४६ अर्ब ३० करोड ६१ लाख बराबर खर्च भएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन भएकामा हालसम्म एक दशमलव ५६ प्रतिशत अर्थात् १८ अर्ब ४७ करोड ९८ लाख बराबर खर्च भएको महालेखाले जनाएको छ ।

ADVERTISEMENT