काठमाडौं । बिहीबार रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि सरकारी खाता बन्द गर्ने व्यवस्था छ।
अबको सात दिन संघ, प्रदेश र स्थानीय तहका सरकारी खाता बन्द हुनेछन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८२÷८३ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा बिहीबार राति १२ बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ।
अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपत्कालीन खर्चका लागि निकासा खुला गर्न सकिने बताइएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्म सरकारले कुल बजेटको ८ प्रतिशत अर्थात १५ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ। त्यसमध्ये पूँजिगत खर्च एक खर्ब ६३ अर्ब १७ करोड अर्थात् ४० प्रतिशत मात्र भएको छ। चालू खर्च भने ८७.२५ प्रतिशत अर्थात १० खर्ब ३० अर्ब छ ।
बिहीबारसम्म १० खर्ब ५१ अर्ब अर्थात् ७९ प्रतिशत मात्र राजश्व संकलन भएको छ। सरकारले १३ खर्ब राजश्व उठाउने लक्ष्य लिएको थियो।
महालेखा नियन्त्रकको कार्यालयकोअनुसार पुँजीगतमा ४ खर्ब ७ खर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा असार २४ गतेसम्ममा १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ मात्र खर्च भएको छ । जुन खर्च विनियोजित बजेटको ४० प्रतिशत मात्र हो ।
चालु खर्चतर्फ भने खर्च बढी देखिएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा १० खर्ब ३० अर्ब ४२ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ । जुन खर्च ८७.२५ प्रतिशत हो । चालु तर्फको खर्च कर्मचारीको तलब भत्तामा सीमित हुने भएकाले गर्दा यो खर्च लगभग कार्यान्वयन हुने गर्छ ।
सरकारले वित्तीय व्यवस्थापनमा भने ९०.१७ प्रतिशत गरेको देखिएको छ । बजेट घाटा पूर्ति गर्न वा सरकारी ऋण भुक्तानी गर्नका लागि आवश्यक पर्ने रकम जुटाउने कार्यलाई वित्तीय व्यवस्थापन भन्ने गरिन्छ । जस अन्तरगत आन्तरिक र बाह्य ऋण लिने गरिन्छ ।
वित्तीय व्यवस्थापन गर्ने सकारले ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँको अनुमान गरेकोमा बुधवारसम्ममा ३ खर्ब ३८ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ व्यवस्थापन गरेको छ ।












