काठमाडौं । तिहार बिदापछि सेयर बजारमा हरियाली छाएको छ । कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंक बढेको छ। अघिल्लो कारोबार दिन आइतबार सामान्य अंक बढेको नेप्से आज उच्च अंकले बढेको हो।
मंगलबार नेप्से परिसूचक ६२.२९ अंक बढेर २५७१.३४ विन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। चार अर्ब ५७ कराेड बराबरकाे काराेबार भएकाे छ ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशत बढेको छ। वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ।
आइतबार दुई अर्ब ६६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३१४ स्टकको ४७ हजार ९४ पटकको कारोबारमा चार अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँबराबरको ९२ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
हिमालयन पावर पार्टनर कम्पनीको २४ करोड ९४ लाख ६० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। युनियन हाइड्रोपावरको कारोबार रकम २३ करोड, राधी विद्युत कम्पनीको करिब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। राधी विद्युत कम्पनीको सेयरमूल्य साढे ९ प्रतिशत, लुम्बिनी विकास बैंकको करिब साढे ९ प्रतिशतले बढेको छ ।







