काठमाडौँ । तिहार पर्वको विदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने छ भने बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालत प्रशासनले सोमबार जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ ।

‘सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने छ’, सूचनामा उल्लेख छ ।

तिहारको लामो बिदापछि कात्तिक ९ गतेदेखि अदालत नियमित रूपमा सञ्चालनमा आउने भएको छ । दसैँ बिदाकाे १५ दिनसम्म पनि सर्वाेच्चले बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गरेकाे थियाे ।