काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बुधबार सो रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको हो ।
संयुक्त इजलास आगामी आइतबारका लागि तोकिएको छ । मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइनसहितका नेताहरूको नेतृत्वमा ७४ जना प्रदेशसभा सदस्यले मंगलबार रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ । संयुक्त इजलासमा सुनुवाइ गर्न आदेश दिएकाले अब यो मुद्दा केही पर धकेलिएको छ ।








