काठमाडौं । सरकारले फागुन २१ मा घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गरेको छ ।
कान्तिपथस्थित आयोगको सभाकक्षमा सर्वदलीय छलफल सुरु भएको हो। छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकको सहभागिता हुने वातावरण बनाउन र राजनीतिक दल तथा सरोकारवालासँग छलफल गर्न निर्देशन दिएपछि आयोगले सक्रियता बढाएको हो।यसअघि राष्ट्रपति पौडेलले दलहरुसँग छलफल गरेका थिए ।
छलफलमा कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, एमाले उपाध्यक्ष गुरु बराल, माओवादी सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटी, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि छन्।
प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरे।
यद्यपि प्रधानमन्त्री सुशीला कार्की एवं सरकारको तर्फबाट भने हालसम्म राजनीतिक दलसँग छलफल भएको छैन। सरकारले निर्वाचन घोषणा गरे पनि एमालेले संसद पुनःस्थापना हुनुपर्ने माग गरेको छ ।
कांग्रेसले औपचारिक निर्णय नगरे पनि मंगलबार केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचनबाटै अहिलेको समस्या समाधान गर्नुपर्ने बताएका थिए । माओवादी र रास्वपाले निर्वाचनमा जाने बताएका छन् । राप्रपाले आमनिर्वाचनबारे कात्तिक तेस्रो साता औपचारिक निर्णय गर्ने भएको छ ।









