काठमाडौं । निर्वाचन आयोगले आगामी माघ र फागुनमा हुने निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले शुक्रबार छुट्टाछुट्टै सूचना जारी गर्दै दल दर्ता खुलाएको हो ।

ADVERTISEMENT

आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनको लागि दलहरुले मंसिर १ गतेदेखि ७ गतेसम्म दर्ताका लागि निवेदन दिनुपर्नेछ । प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्मको समयसीमा तोकिएको छ ।

दर्ताको लागि दलहरुलाई पार्टीको विधान, नियमावली तथा घोषणा पत्र, पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनलगायतका कागजात अनिर्वाय पेस गर्न भनिएको छ ।

ADVERTISEMENT

फागुनमा हुने निर्वाचनका लागि प्रमुख दलहरू अझै तयार भइसकेका छैनन् । कांग्रेसमा चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्नेमा विवाद छ । एमालेले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ । माओवादी, एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले चुनावपछि महाधिवेशन गर्ने, फागुनमा हुने चुनावमा भने सहभागी हुने जनाएको छ ।

रास्वपाले अब फागुनको चुनावपछि मात्रै महाधिवेशन गर्ने जनाएको छ । रास्वपाले समानुपातिक उम्मेदवार बन्न आवेदन माग गरेको छ । रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहन ५० हजार शुल्क लिने निर्णय गरेको छ ।