काठमाडौँ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम जारी रहेको छ ।

निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन् । केही दलले दर्ता प्रमाणपत्र पाइसकेका छन् भने केही दल विभाजन भई नयाँ दलको मान्यता पाएका छन् । केही दल एकताको प्रक्रियामा छन् ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी आयोगद्वारा सञ्चालित मतदाता नामावली संकलन तथा अद्यावधिक उत्साहजनक सहभागिता भइरहेको र मंगलबारसम्ममा दुई लाख नौ हजार पाँच सय २२ नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

कात्तिक २५ गतेसम्ममा एक लाख २२ हजार सात सय ४० पुरूष, ८६ हजार सात सय ८५ महिला र अन्य २७ गरी दुई लाख नौ हजार पाँच सय २२ जना नयाँ मतदाता थपिएका हुन् । कात्तिक २५ गते मात्रै १३ हजार ६६ पुरूष, १० हजार पाँच सय ६७ महिला र अन्य पाँच गरी २३ हजार छ सय ३८ नयाँ मतदाता भएका छन् ।

आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक भइरहेको छ । आयोगले गत असोज ९ गतेदेखि सञ्चालन गरेको नामावली संकलनको कार्य यही कात्तिक ३० गतेसम्म जारी राख्नेछ ।

नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण (बायोम्याट्रिक) दिनुपर्छ । यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेशन (पूर्वदर्ता) पनि गराउन सकिन्छ ।

अहिले नाम दर्ता गर्ने नागरिकले मताधिकार प्रयोग गर्न निर्वाचन हुने अघिल्लो दिन आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ । आयोगले हाल नामावली संकलनमा देखिएको भीड व्यवस्थापनका लागि नागरिकताको प्रमाणपत्र प्राप्त गरेका, तर आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा नहुने नागरिकलाई हालको नाम दर्तामा भाग नलिन आग्रह पनि गरेको छ । निर्वाचनपछि पुनः नामावली संकलन हुने भएकाले आशन्न निर्वाचनमा भाग लिन नपाउनेहरूले अहिले नामावली संकलनमा हतार नगर्न आयोगले आग्रह गरेको हो ।

आयोगले नाम दर्ता स्थलहरूमा देखिएकोे अधिक चापलाई व्यवस्थापन गर्न र सहजरूपमा सेवा प्रवाह गर्नका लागि दैनिक आठ सयभन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा छरछ घन्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घन्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । यसका लागि काठमाडौँ उपत्यकाभित्रका तीन जिललाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना कर्मचारी खटाइ सेवा प्रवाहको व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

अन्य जिल्लाका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा जनशक्ति खटउने गरी आयोगले नेपाल सरकार, गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

मतदाता नामावली दर्ता गर्न भने १६ वर्ष उमेर पुगेपछि मिल्नेछ । गत कात्तिक १७ गतेसम्म १८ वर्ष उमेर पूरा भई मताधिकार प्रयोग गर्न पाउनेहरूको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार दुई सय ३० रहेको थियो ।

नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । नामावली सङ्कलनका क्रममा विगतमा भएको नामावलीमा त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने, दाबीविरोध गर्ने र नयाँ नाम थप गर्नेलगायतका कार्यहरू हुँदै आएको छ ।

आयोगमा हालसम्म राजनीतिक दल दर्ताको संख्या एक सय २५ पुगेको छ । निर्वाचन घोषणापछि विभिन्न २१ नयाँ दलले निर्वाचन आयोगका दर्ताका लागि निवेदन दिएकामा अध्ययनपश्चात् स्वीकृत हुने क्रम जारी छ ।

पछिल्लोपटक कबिर सोपको नेतृत्वमा जाँतो’ निर्वाचन चिह्न भएको नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दर्ता भएको छ भने वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज भएको छ । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी नयाँ थपिएको छ । दल विभाजन भई राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी नयाँ दल भएका छन् ।