काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुन्डुमा जारी छ । एमाले अध्यक्ष केपी ओली निवासमा बैठक बसिरहेको हो । सचिवालय बैठकले पार्टीको ११ औँ महाधिवेशन तोक्न सक्ने सम्भावना छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पद छाड्न दबाब बढे पनि त्यसलाई अनदेखा गरिरहेका ओलीले आफूविरुद्ध बहुमत पदाधिकारी खडा भएपछि महाधिवेशनबाटै छिनोफानो गर्ने मनस्थिति बनाएका छन् ।

ओलीले त्यही रणनीतिअनुसार एमालेले ११औँ महाधिवेशनको मिति तोक्ने तयारी गरेका छन् । ओलीलाई हटाउने पक्षमा बहुमत सचिवालय सदस्य जुटे पनि अब विधिवत रुपमा उनलाई महाधिवेशनबाटै चुनौती दिनुपर्ने अवस्था आएको छ ।

पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढंगले अगाडि बढाएर जाने बैठकले निष्कर्षतिर ओलीले लगेका हुन् । ओलीले आफूविरुद्ध एकजना पनि पदाधिकारी खडा नहुने आकलन गरेका थिए । तर त्यस्तो भएन । पूर्वमाओवादी नेताहरु ओलीले नेतृत्व छाड्नुपर्ने पक्षमा उभिएका छन् ।

जेनजीको आन्दोलनको बलमा सत्ताच्यूत भएका ओली पार्टी नेतृत्वबाट पनि हट्न नमानेपछि अब महाधिवेशनको विकल्प खोजिएको हो । शनिबार बस्ने भनिएको सचिवालय बैठक ‌ओलीले बिरामी परेको भन्दै रोकिएको थियो । बिरामीको बहानामा दिनभर ओलीले सचिवालयमा बहुमत पुर्‍याउने कसरत गरेपछि आइतबार बैठक बसेको हो । ओलीले ग्रेसफुल एक्जिटको बाटो खोजिरहेका छन् ।