काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ । बैठकमा सामसामयिक राजनीतिक विषयका साथै असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचिलगायत विषयसमेतमा छलफल हुने छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलोपटक बसेको हो । पार्टी सभापति शेरबहादुर देउवा आफैँले बोलाएको बैठकमा उनी सहभागी नहुने भएपछि आजको बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन् । पार्टी पदाधिकारीमा देउवापछि खड्का सिनियर हुन् । देउवाले असोज २६ देखि हुने केन्द्रीय कार्यसमिति बैठकपछि खड्कालाई कार्यवाहक सभापति दिने संकेत गरेको उनीनिकट केही केन्द्रीय सदस्यहरूले बताएका छन् ।

प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति देउवा र उनकी धर्मपत्नी डा.आरजु राणा देउवामाथि उनकै निवासमा सांघातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।

स्वास्थ्यलाभपछि आराम गरिरहेका देउवा आजको बैठकमा उपस्थित नहुने र असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय पनि भदौ २४ गतेको जेनजी आन्दोलनबाट क्षतिग्रस्त भने छ। जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको आवाज उठिरहेको छ।