म्याग्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटका किसानहरू रासायनिक मल र विषादी प्रयोग नगरी जैविक विधिबाट तरकारी खेती गरेर आत्मनिर्भर बनेका छन्।
वडा सदस्य समेत रहेका ४६ वर्षीय बुद्धिवीर पुनले तरकारी खेतीबाट वार्षिक रु सात लाखसम्म आम्दानी गर्नुहुन्छ। पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका पुन १६ वर्षअघि कतारमा पाँच वर्ष श्रमिकको रूपमा काम गरेका थियो।
“कृषिमा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने मेरो अनुभव छ,” उनले भने, “ताजा तरकारी विक्री गरेर वार्षिक रूपमा रु पाँच देखि सात लाख सम्म आम्दानी हुन्छ।” साँझ बिहान तरकारी र किवीको फार्मको स्याहार सुसारमा व्यस्त पुनले दिउँसोको समय सामाजिक काम गर्छन।
टिकोटको छिमेकी बस्ती घराम्दीका अन्नपूर्ण गाउँपालिका–७ का पूर्व वडा अध्यक्ष गमप्रसाद फगामी पनि कार्यकाल सकिएपछि व्यवसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। फगामीले पाँच रोपनी जग्गामा काँक्रो, बोडी, सिमी, गोलभेडा, बन्दा, काउली र साग खेती गरेका छन्। गोलभेडा खेतीका लागि उनले तीन वटा प्लास्टिक टनेल बनाएका छन् ।
उनका छिमेकी वडा सदस्य गेमबहादुर पुनले ताजा र बेमौसमी तरकारीका साथै व्यवसायिक रूपमा आलु खेती गर्दै आउनुभएको छ। घराम्दी र टिकोटका कृषकले उत्पादन गरेको तरकारी र आलु सदरमुकाम बेनी र प्रदेशको राजधानी पोखरामा बिक्री गर्ने गरेका छन्।
यहाँ ५० जनाभन्दा बढी व्यवसायिक किसान छन्। गाडीले तरकारी बोकेर बजार लैजाने व्यवस्था छ। यहाँबाट वार्षिक रु दुई करोडभन्दा बढी मूल्यको आलु र रु एक करोड बराबरको बन्दा बिक्री हुने गरेको वडा सदस्य बुद्धिवीर पुनले बताउछन्
जैविक विधिको प्रयोग
समुद्र सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको टिकोट र घराम्दीको चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वास्थ्यकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाइमा परेको छ।
अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्याम शरण कुर्मीले बताउनुभयो। कार्यक्रममार्फत कृषकहरूलाई तरकारी खेतीका लागि आवश्यक बीउ, टनेल र सिँचाइ सामग्री उपलब्ध गराइएको उनले बताए।
खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा किसानहरूले जैविक विधिबाट तरकारी खेती गरेका छन्। टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोगकिरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभैसीको मलमूत्र प्रयोग गरेको बताए।
“प्लास्टिकको बोत्तलमा संकलन गरेर राखेको गाईभैसीको मूत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौं,” उनले भने, “टिकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन्।”
यहाँका किसानको प्रत्येक गोठमा गाईभैसीको मूत्र संकलन गरेर राखिएको छ। यसले जैविक खेतीलाई निरन्तरता दिन सहयोग पुगेको छ।





