प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग आगामी संसद् बैठकलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा मंगलबार छलफल गर्नुभएको छ। छलफलमा साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलाई परिणाममुखी बनाउने, सरकारले पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विस्तृत विचारविमर्श भएको हो।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले संसद्को मूल्य–मान्यता र मर्यादा कायम राख्दै जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी सदन सञ्चालन गर्न सबै दल जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँका अनुसार सरकारले पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने दसैँअघिसम्म नियमित रूपमा सदन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ। शून्य र विशेष समयमा उठाइने विषयलाई थप मर्यादित बनाउनेबारे समेत सहमति खोजिएको उहाँले जानकारी दिनुभयो।

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टीका सचेतक युवराज दुलालले सरकारले पटक–पटक विधेयक ल्याउने प्रतिबद्धता जनाए पनि हालसम्म दर्ता नगरेकामा ध्यानाकर्षण गराउँदै आवश्यक विधेयक तत्काल संसद्मा दर्ता गर्न सत्तापक्षले पहल गर्नुपर्ने धारणा राख्नुभयो।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले दुई साताको विश्रामपछि सुरु हुने संसद् बैठकलाई प्रभावकारी बनाउन पर्याप्त विधेयकसहितको कार्यसूची तयार गर्ने विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो। उहाँले सत्तापक्ष र विपक्षीबीच रहेका असहमतिका विषयमा तीन–चार दिनभित्र सहमति जुट्ने विश्वास व्यक्त गर्दै संसद्लाई शान्तिपूर्ण र परिणाममुखी रूपमा अघि बढाउने वातावरण निर्माण भइरहेको जानकारी दिनुभयो।

ADVERTISEMENT