काठमाडौँ । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन काठमाडौंँ जिल्ला अदालतलाई दिइएको छ ।

प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले प्राधिकरण सञ्चालक समितिको असोज ३० गतेको बैठकले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको जानकारी दिए । सञ्चालक समितिले उक्त निर्णयमा सञ्चालक समितिका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आइतबार हस्ताक्षर गरेकी छन् ।

‘२०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालतको भवनमा क्षति हुन गई कार्य सञ्चालनमा बाधा पुगेको, सर्वोच्च अदालत एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत उक्त भवन जिल्ला अदालत काठमाडौँलाई तत्काल उपलब्ध गराई सेवा सञ्चालनमा सहजीकरण गर्न प्राधिकरणलाई अनुरोध भई आएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्मका लागि बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वतर्फको ‘ब्लक बी’ भवन दुई पक्ष (काठमाडौँ जिल्ला अदालत र प्राधिकरण) बीच आवश्यक सम्झौता गरी काठमाडौंँ जिल्ला अदालतको सेवा सञ्चालन गर्न दिने,’ निर्णयमा भनिएको छ ।

काठमाडौँ जिल्ला अदालत र सँगै रहेको प्राधिकरणको मूल भवन आजगनीका कारण क्षतिग्रस्त छन् । आगजनीले भवन जलेपछि काठमाडौं जिल्ला अदालतले नियमित कामकारबाही गर्न सकेको छैन । प्राधिकरणको केन्द्रीय कार्यालय भने अहिले सिनामंगलमा सरेको छ ।