काठमाडौँ, बिहानदेखि परिरहेको अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान स्थगित भएका छन् ।

खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार जाने उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार मौसमको पुनरावलोकन भइरहेको छ भने अन्तरराष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेका छन् । “अविरल वर्षामा आन्तरिक उडान जोखिमपूर्ण हुने भएकाले तत्कालका लागि स्थगन गरिएको हो,” उहाँले बताउनुभयो ।

ADVERTISEMENT

आन्तरिक उडान आज बिहानदेखि प्रभावित भएका हुन् । यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने पूर्वानुमान गर्दै राति अझ वर्षा तीव्र हुने चेतावनी दिएको छ ।