काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन्। शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन्।

पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिइन्। आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु ३१ करोड ८० लाख ५० हजार ७७८ रोयल्टी सङ्कलन गरेको छ।

ADVERTISEMENT

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) का रहेका छन्। मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन्। जसमा ३७३ पुरुष र १२७ महिला रहेका छन्। उनीहरूबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ।

ADVERTISEMENT

धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरुबाट विभागले रु ८४ लाख ७३ हजार ६५० रोयल्टी सङ्कलन गरेको छ। यस्तै, मकालु हिमाल आरोहणका लागि एउटा टोलीका तीन जनाले अनुमति लिएका छन्। उनीहरुबाट विभागले रु छ लाख ८८ हजार ५० राजस्व सङ्कलन गरेको शाखा अधिकृत रेग्मीले बताइन्।

यसैगरी, हिम्लुङ हिमालका लागि १२ टोलीका १२१ आरोहीले अनुमति लिएका छन्। उनीहरुबाट विभागले रु ७४ लाख २७ हजार ७२० रोयल्टी सङ्कलन गरेको छ। यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरुबाट विभागले रु पाँच करोड ७६ लाख ९९ हजार ६५० राजस्व सङ्कलन गरिएको छ।

शाखा अधिकृत रेग्मीका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको छ।

आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १४१ जना रहेका छन्। यसबाहेक रुसका १०८, फ्रान्सका १३०, अमेरिकाका ११९, बेलायतका ९६, पोल्याण्डका ४१, नेपालका ३३, स्विट्जरल्याण्डका ४७, स्पेनका ३१, भारतका ४०, इटलीका ४७ र जापानका ३५ जनाले आरोहण अनुमति लिएका शाखा अधिकृत रेग्मीले बताइन्।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट २० लाख ८९ हजार ५८४ अमेरिकी डलर अर्थात् रु ३१ करोड ८० लाख ५० हजार रोयल्टी सङ्कलन गरेको छ।