काठमाडौं । दशैँअघिको अन्तिम कारोबार दिन आइतबार सेयर बजार बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से आज भने सामान्य अंक बढेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको छ। नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ। बिहीबार तीन अर्ब २६ करोडको सेयर खरिदबिक्री भएकोमा आज ३१४ स्टकको ३९ हजार ८५९ पटकको कारोबारमा दुई अर्ब ९३ करोड ५९ लाख १४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

युनियन हाइड्रोपावर कम्पनीको २४ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ११ करोड र शिवम सिमेन्टको कारोबार रकम आठ करोड नाघेको छ।

ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको इकाईमूल्य यस दिन ८९ पैसा बढेर ९ रुपैयाँ ७९ पैसामा अन्तिम कारोबार भएको छ ।

ADVERTISEMENT

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ।