माधवप्रसाद घिमिरे, ललितपुर । प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले मालपोत र यातायात कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गर्न लेखापढी व्यवसायीहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताएकी छन्।

नेपाल लेखापढी व्यवसायी एशोसियसन, बागमती यातायात इकाई समितिको ९औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनलाई शनिबार ललितपुरको महालक्ष्मीस्थानमा सम्बोधन गर्दै उनले लेखापढी व्यवसायीलाई बिचौलियाको आरोप लगाएर बदनाम गर्नु उचित नहुने बताइन्। जिम्मेवारीसँगै आउने जोखिमलाई बुझेर कानुनी र पारदर्शी ढंगले काम गर्न उनले आग्रह गरिन्।

ADVERTISEMENT

डा. कार्कीले मालपोत र यातायात कार्यालयसँग सम्बन्धित जनगुनासो धेरै आउने उल्लेख गर्दै भ्रष्टाचारमा संलग्नलाई कारबाही र इमानदार कर्मचारी तथा व्यवसायीलाई संरक्षण गर्नुपर्ने धारणा राखिन्। जनता र सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै व्यवसायीका समस्या समाधानमा आफूहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले विगतका कमजोरी सुधार गर्दै सुशासन र विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए। उनले बागमती प्रदेशले यातायात नियमावली संशोधन तथा अनलाइन सेवा प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरिरहेको जानकारी दिए।

ADVERTISEMENT

नेपाल लेखापढी व्यवसायी एशोसियसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले व्यवसायीमाथि राज्यको व्यवहार विभेदपूर्ण रहेको आरोप लगाउँदै भ्रष्टाचार न्यूनीकरणका लागि कर्मचारी संयन्त्रमा पनि सुधार आवश्यक रहेको बताए। उनले कानुनअनुसार काम गर्ने व्यवसायीलाई असुरक्षित बनाउने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे।

कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द पोखरेल, ललितपुर जिल्ला अदालतका श्रेस्तेदार शैलेश खतिवडा, केन्द्रीय सदस्य रोमप्रसाद हुमागाईं, पाटन इकाईका अध्यक्ष दीपक केसी तथा बागमती यातायात इकाई समितिका सहसचिव मदनकुमार लामा लगायतले व्यवसायीको पेशागत अधिकार, कानुनी संरक्षण र सहज व्यवसायिक वातावरणको आवश्यकता औंल्याएका थिए।